यहीँ साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने, चार हजार ३१० परीक्षा केन्द्र निर्धारण
भक्तपुर, ५ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यहीँ साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । यहीँ साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म भौतिक रूपमै परीक्षार्थीलाई उपस्थिति गराएर परीक्षा सञ्चालन गर्ने बोर्डको आज बसेको बैठकले निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
बोर्डको बैठकले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड अपनाएर कोभिड– १९ बाट सुरक्षित हुदैँ आफू अध्ययन गरेको विद्यालयमा भौतिक रुपमा परीक्षा दिने गरि विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) निर्धारण गरेको छ । कक्षा १२ मा परीक्षाको तयारीमा रहेका करिब तीन लाख ८६ हजार विद्यार्थीका लागि बोर्डले देशभरमा चार हजार तीन सय १० परीक्षा केन्द्र निर्धारण गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सर्तसहित परीक्षा सञ्चालनलाई अनुमति दिएपछि बोर्डको बैठक भौतिक उपस्थितिमा होम सेन्टरमा परीक्षा सञ्चालनको निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बोर्डले गत जेठमा सञ्चालनको तयारी गरेको परीक्षा कोभिड– १९ को सङ्क्रमण उच्च भएपछि सरकारले गरेको निषेधाज्ञाका कारण परीक्षा स्थगित भएको थियो । यसअघि गतवर्ष बोर्डले ४० प्रतिशत मूल्याङकनका लागि परीक्षा लिएको थियो भने यस वर्ष शतप्रतिशत नै परीक्षा लिने भएको छ । परीक्षा गाईजात्रा र जनैपूर्णिमाको बिदा बाहेक शनिवार पनि सञ्चालन हुने भएको छ ।





