एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक

भक्तपुर, १३ साउन : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मुल्यांकनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यहीँ साउन २५ गते भित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताउनुभयो ।

सबै जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आएर ईन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउदै उहाँले कुनै प्राबिधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक गर्ने उहाँले बताउनुभयो । कार्यालयका अनुसार २०७७ सालको एसइई परीक्षाको लागि ५ लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका थिए ।

दोस्रो लहरको कोभिड(१९ सङ्क्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण गत वैशाख २७ गते एसइई परीक्षा स्थगित भएको थियो । गत जेठ १३ देखि भौतिक रूपमा एसइई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेपनि कोभिडकै कारण परीक्षा हुन नसके पछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

बोर्डले एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिक तर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सो भन्दा बढी प्राप्ताङ्क प्राप्त गर्ने विद्यार्थीको विषगत शिक्षकले के कारण उक्त नम्बर दिइएको हो भनेर कारण खुलाउनु पर्ने जनाएको छ । कोभिडकै कारणले २०७६ सालको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्याङ्कनबाट प्रकाशित गरिएको थियो ।