तिमिल्सिनाको शैक्षिक उपन्यास ‘कखरा’ लोकार्पण

भक्तपुर, २१ असोज : कवि, गीतकार एवं शिक्षक हरिहर तिमिल्सिनाद्धारा लिखित तथा सिकाइ समूहको प्रकाशन गरेको उपन्यास ‘कखरा’ को आज लोकार्पण गरिएको छ । शैक्षिक उपन्यासको रुपमा रहेको ‘कखरा’को शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरिप्रसाद लम्साल, आख्यानकार नयनराज पाण्डे, शिक्षिका मल्लिका जोशी, शिक्षाविद् मकुण्द पोखरेल तथा विद्यार्थाीहरुले संयुक्त रुपमा लोकार्पण गर्नु भएको हो ।

लोकार्पणमा सहसचिव लम्सालले नेपाली शिक्षकहरुले निराशामात्र सिकाएको भन्दै उपन्यास ‘कखरा’ले शिक्षामा सुधारका लागि कसको भूमिका के हुने ? भन्ने जवाफ फेला पार्न सघाएको चर्चा गर्नुभयो । ‘शिक्षकले निराशा मात्र सिकाए आशा सिकाउन सकेन’ भन्दै उहाँले अब शिक्षकले राजनीतिक व्यक्तिले जस्तै विद्यार्थीमा आशा जगाउने काम गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षामा कायम रहेको द्वैध धारणाले शैक्षिक सुधारमा अवरोध खडा गरेको उहाँको भनाइ थियो ।

शिक्षामा बद्लाव ल्याउनका लागि शिक्षक आफै लाग्नुपर्नेमा जोड दिँदै शिक्षकले अध्ययन गर्न जरुरी रहेको उहाँले औल्याउनुभयो । साहित्यलाई मात्र नभएर शिक्षालाई मन पराउने र शिक्षामा परिवर्तन चाहनेहरुले यो पुस्तक पढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा शिक्षिका मल्लिका जोशीले स्कुले शिक्षामा भएका उत्पीडन केलाउँदै बाल मनोविज्ञानमा परेको प्रभावको चित्रण, अनुशासनका नाममा लादिएको नियम शिक्षण प्रणालीका कमजोरीलाई उपन्यासकारले सटिक ढंगले औंल्याएको चर्चा गर्नुभयो । उहाँले बालबालिकाको रूचिलाई ख्याल गर्ने गरी शिक्षा प्रणाली विकास गर्न र असल नागरिक उत्पादन गर्ने शिक्षा प्रणालीको आवश्यकता उपन्यासको विषय बनेको बताउनुभयो ।

कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले कखरा उपन्यास सबैले पढ्नुपर्ने, बुझ्नुपर्ने विषय उत्थान गर्न सफल भएको भन्दै सजिलो र सरल भाषामा लेखिएको उपन्यास भएकाले शिक्षक, अभिभावक र विद्यार्थीले समेत सहजै बुझ्न सक्ने भनाइ राख्नुभयो ।
पाठकलाई जिज्ञासा जगाउँदै उपन्यास अघि बढेकोमात्र नभएर शिक्षाले बिराएको बाटो पहिल्याउन उपन्यास सफल भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल एवं लेखक मुकुन्द पोखरेल शिक्षामा नभई चेतनामा सुधार आएको उल्लेख गर्दै शिक्षामा सुधारका लागि चिन्तन गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयमा अनुशासनको नाममा पढाइलाई निरस बनाइरहेको उल्लेख गर्दै हालको शिक्षा प्रणालीको पुरातन सोच भत्किन जरुरी रहेको ययार्थलाई उपन्यासले चित्रण गरेको बताउनुभयो । शिक्षामा नवप्रवर्तनको विषयको आवश्यकता नै उपन्यासको सार रहेको उहाँले चर्चा गर्नुभयो ।

त्यस अवसरमा ज्ञानको वास्तविक खोजमा लागेका विद्यार्थीलाई उपयोगी पुस्तक, ज्ञानका लागि पाठ्यपुस्तकले मात्र नपुग्ने विमोचनमा सहभागी विद्यार्थीहरुले जोड दिएका थिए । विमोचनपछि पुस्तकबारे कल्याणविक्रम अधिकारीले शिक्षाका थुप्रै विद्यार्थी सुलभ जिज्ञासाहरूलाई समेटेको भन्दै विद्यार्थी जीवनका दैनिकको जीवन्त अनुभूति उपन्यासमा रहेको विद्यार्थी अधिकारीले चर्चा गर्नु भयो । उहाँले नेपालको शिक्षा प्रणालीमा सुधारका पाटोलाई उपन्यासले स्पष्ट पारेको बताउनुभयो ।

विद्यार्थी स्नेहा झाले उपन्यासमा आफ्नै कथा पो हो कि भन्ने अनुभव दिएको बताउदै उपन्यासले विद्यार्थीलाई रचनात्मक बनाउनुपर्ने सन्देश प्रवाह गरेको बताउनुभयो । अर्का विद्यार्थी अर्जुन मिजारले उपन्यासले नेपालको शिक्षाको चित्रण गरेको भन्दै शिक्षाका साँघुरा दायराहरूबारे स्पष्ट पारेको बताउनु भयो ।

कार्यक्रम सञ्चालक वसन्त बस्नेतले पुस्तकले लेखक तिमिल्सिनाको लेखनीले साहित्यमा नयाँ आयाम थपिएको चर्चा गर्नुभयो । सिकाइ समूहका प्रबन्ध सम्पादक सुदर्शन घिमिरेले कखरा शैक्षिक उपन्यास प्रकाशन गर्नुपर्नाका कारण प्रष्ट पार्दै नेपाली शैक्षिक र साहित्यिक क्षेत्रमा यसले योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा लेखक तिमिल्सिनाले शिक्षा क्षेत्रमा लेखनीमार्फत पनि सहयोग गर्न उपन्यास लेखेको बताउदै यो उपन्यास अभिभावक, शिक्षक र विद्यालयको अनावश्यक दबाब एवं पेलानमा परेका समस्त विद्यार्थीको भावनामा आधारित रहेको बताउनुभयो ।